
बलिउडका चर्चित हास्य अभिनेता गोवर्धन असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। दिवालीको दिन (२० अक्टोबर २०२५) उनले मुम्बईको आरोग्य निधि अस्पतालमा अन्तिम श्वास लिएका हुन्, जहाँ उनलाई फोक्सोमा समस्या देखिएपछि केही दिनदेखि भर्ना गरिएको थियो। पाँच दशकभन्दा लामो आफ्नो अभिनय यात्रामा उनले ३५० भन्दा बढी चलचित्रहरूमा अभिनय गरे। असरानीको अभिनयले सधैं दर्शकलाई हसाउँदै भावनात्मक रूपमा पनि छुने काम गर्यो। विशेषगरी १९७५ को सुपरहिट फिल्म ‘शोले’मा निभाएको "अंग्रेजों के ज़माने के जेलर" को भूमिका आज पनि अमर छ। उनले राजेश खन्ना, अमिताभ बच्चन, धर्मेन्द्रजस्ता दिग्गजहरूसँग काम गर्दै हास्य भूमिकामा छुट्टै स्थान बनाएका थिए। सरल जीवनशैली, सफा हास्य र अभिनयमा समर्पित असरानीको योगदान भारतीय सिनेमा इतिहासमा सधैं सम्झिइनेछ। उनप्रति हार्दिक श्रद्धाञ्जली – तपाईंको हाँसो सधैं हामीसँग जीवित रहनेछ।